आरक्षण र जातीय बिभेद

देशको सबैभन्दा ठूलो विनाशको युद्ध भनेको जातीय युद्ध हो । यसले दीर्घकालसम्म असर गरिरहन्छ । नेपालमा पनि जातीयता यस्तो विषको रोपण भएको छ ।  यसको  प्रभावले सारा नेपालीलाई अब नेपाल पनि कङ्गो र सुडान नै बन्ने भो भन्ने चिन्ता पनि उत्तिकै छ । यसबीचमा देशी विदेशी जातीयवादका नाइकेहरूले भित्रभित्रै षड्यन्त्रका तानाबाना बुनिरहेकै थिए । अझै पनि बुनिरहेका छन् । यस लेखमा स्वस्थकर बहसका लागि जातीय आरक्षणका सवाल राख्ने जमर्को गरेको छु ।


जातीय आरक्षणका तरङ्गहरू उठिरहेको अवस्थामा अहिले लोकसेवा आयोगमा भएको विज्ञापन काण्ड, संसदीय समितिले सरकारलाई दिएको निर्देशन र सर्वोच्चमा परेको मुद्दा


अहिले नेपाली समाजलाई तताएको छ । यसले फेरि जातीय राजनीति गर्नेहरू सलबलाउन थालेका छन् । देशको एक मात्र भरोसायुक्त संवैधानिक स्वतन्त्र निकाय लोकसेवा आयोगमा समेत राजनीति पसेबाट अब नेपालका कुनै पनि सङ्घ संस्था स्वतन्त्र हुन सक्ने अवस्था रहेन । यही नै सबैभन्दा ठूलो दुर्भाग्य हो । अदालत, मानव अधिकार, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, विभिन्न आयोगमा राजनीति हुँदै आएको छ । अब लोकसेवा आयोगमा पनि राजनीति गर्ने हो भने कुन संस्थालाई भरोसा गर्ने र चित्त बुझाउने ? सानैदेखि मिहिनेत र परिश्रम गरी राम्रो अङ्कका साथ उत्कृष्ट नतिजा ल्याई सरकारी सेवामा प्रवेश गर्ने क्षमतावान विद्यार्थीका लागि योभन्दा दुर्भाग्य के हुन सक्ला ?

जताततै हस्तक्षेप गरी थिति बसाल्न सके त राम्रो तर थिति बसाल्न नसक्ने खाली भाँजो मात्र हाल्ने सांसद, सरकार र राजनीतिज्ञ हामीलाई किन चाहियो ? के यसैका लागि हो हामीले कर तिरेर तिमीहरूको जीवनचर्या चलाउन राज्यको तालाचाबी सुम्पिएको ? अब सोच्ने बेला आएको छ । संसारका विकसित देशलाई भेट्टाउन हामीलाई अथक परिश्रम गरे पनि कति वर्ष लाग्न सक्छ थाहा छ ? कम्तीमा आजैदेखि सबैको  आचरण सुधार गरी अथक रूपले लाग्ने हो भने पनि कम्तीमा सय वर्ष लाग्छ । हामी अझै अरू देशभन्दा हरेक कुरामा सयौँ वर्ष पछाडि छौँ । २१औँ शताब्दीमा पनि हामी यस्तो युगमा बाँच्न विवश छौँ किन ? के हामीले ईश्वरको श्राप पाएर हो ? होइन भने आफू बाँचुन्जेल र आफू सत्तामा छउन्जेल किन कूकर्म गर्ने ? किन राम्रो नगर्ने ? किन इतिहासमा नाम नलेखाउने ? खै नेताहरूको घैँटोमा घाम लागेको ? जायज कुरामा पनि किन सधैँ विरोध गर्नुपर्ने र नाजायज कुरामा किन आवाज निकाल्न नसक्ने ? यो हाम्रो आचरणमा आजैदेखि सुधार गर्नु आवश्यक छ ।

पछाडि परेका र संरक्षण गर्नैपर्ने समूह राज्यको मूलधार नरहेका, राज्यका हरेक  सुविधाबाट वञ्चित रहेका र राज्यसम्म पहुँच पुगेको अनुभव गर्दैनन् भने त्यस्ता समूहलाई कुनै अवसरमा संरक्षण दिई राज्यको मूलधारमा ल्याउन राज्यबाट दिइने सहयोग नै आरक्षण हो । आरक्षण केही समयको लागि दिइने संरक्षण भएकाले आरक्षण आफ्नो जन्मजातदेखिको अधिकार हो भनेर भन्न मिल्दैन । यस विषयमा तिललाई पहाड बनाउने काम भएको छ ।  आरक्षण के सधैँका लागि हुन्छ र ? युगौँ युगसम्म आरक्षण हुँदैन नि । यस्तो पिछडिएको समूह जब राज्यको मूलधारमा आइपुग्छ तब आरक्षण दिइरहनु आवश्यक पर्दैन। यहाँ आवश्यकताको आधारमा आरक्षण नदिई जातको आधारमा आरक्षण दिने संवैधानिक भूल गरिसकियो । यसैलाई आधार बनाई दलित वा जनजाति भएकै आधारमा आरक्षण आफ्नो जन्मसिद्ध अधिकार भएको कुरालाई मागका रूपमा ल्याउने काम गरिएको छ । यसर्थ जातिगत आधारमा आरक्षण दिने होइन, यसरी दिनु गलत हो ।

धनी र सम्पन्न दलित र जनजातिको छोराछोरीले आरक्षणको कोटा पाउने तर गरिब, विपन्न, पिछडिएको र दुर्बल भए पनि गैह्रदलितले आरक्षण नपाउने व्यवस्था गर्नु कत्तिको जायज हो ? यसकारण अबदेखि आरक्षणको व्यवस्था गर्दै नगरौँ र गर्ने नै हो भने जातको आधारमा त गर्नै हुँदैन । आरक्षणको व्यवस्था गर्नु अझै आवश्यक ठानिएमा भौगोलिक क्षेत्र, आर्थिक अवस्था, अवसरको सदुपयोग गर्ने क्षमता जस्ता आदि कुरालाई मापदण्ड बनाउनै पर्छ । यसले कसैलाई नराम्रो लाग्ला र कसैको आत्म सम्मानमा ठेस पुग्ला जस्तो लाग्दैन । आरक्षण युगदेखि युगसम्म हुँदैन र अर्को आरक्षणले केही समय आनन्द आए पनि कुनै दिन पछुतो लाग्छ । बाहुन वा क्षेत्रीको छोराले डाक्टर पढ्न ९५ प्रतिशत ल्याउँदा पनि नपाउने र दलित वा जनजातिको छोराले सोही प्रतिस्पर्धामा ५५ प्रतिशत ल्याउँदा पढ्न पाउने भएमा केही क्षण त आफूले ठूलै युद्ध जिते जसरी आनन्द पक्कै आउँछ । तर केही समयपश्चात् जब उसले कुरा बुझ्छ र आफ्नो कारणले प्रतिभावान् व्यक्तिले पढ्न नपाएको कुराले उसलाई जीवनभर पोलिरहन्छ । के यस्तो हुनु दु:ख लाग्दो अवस्था होईन र??
हामी क्षणिक आवेशमा आएर होइन, दीर्घकालीन असर पार्ने यस्ता कुरालाई समयमै सच्याउनु राम्रो हुनेछ । आरक्षण नै सही तर आरक्षण कहिलेसम्म दिने त ? प्रष्ट हुनुपर्यो नि । आरक्षण नै सही तर आरक्षण केको आधारमा दिने त ? आरक्षण दिँदा के जातिगत नाम थर भएको आधारमा दिनु जायज हो त ? आरक्षण पाउन केवल दलित वा जनजातिकै कोखबाट जन्म लिनुपर्ने हो त ? के विपन्न र पिछडिएको बाहुन क्षेत्रीले नाम र थरको कारणले कहिल्यै आरक्षण नपाउने त ? उसो भए गैह्र दलित, दलित, जनजाति, मधेसी, महिला आदि सबैले आरक्षण नै पाउने हो भने बाँकी को रह्यो त ? आखिर सबै वर्ग र समूहले आरक्षण कोटा लिइरहेका छन् भने सबैको लागि पनि आरक्षण हुन्छ र ? सबै उही भएपछि वर्ग नै भएन हैन र ? यदि हो भने आरक्षण किन र केका लागि त ? यसलाई सधैँका लागि अन्त्य गर्ने कानुन बनाई संविधान संशोधन गरे कसो होला ?

आरक्षणसम्बन्धी विषयलाई सबैले बुझियो भने सबैका हितका लागि र राष्ट्रको गुणस्तरीय विकासका लागि आरक्षण प्रथा गलत छ भन्न सकिन्छ । अन्यथा सबैले यसलाई आफ्नो प्रतिष्ठा र जन्मसिद्ध अधिकारसँग जोडियो भने निश्चित छ कि यो महारोगको रूपमा र जातीय द्वन्द्वका रूपमा युगौँसम्म रहनेछ।। र बाहुन डाउन भए पनि सधै माथी तर आरक्षण ले बाहुन भन्ने शब्द कुण्डलि मा मात्र सिमित रहने भयो नि होईन र?

                                                                                                                      युबराज ज्ञवाली
                                                                                                 बुटबल बहुमखी क्याम्पस
                                                    

Comments

  1. आरक्षणको बाएए मेरो छुट्टै धारणा छ । आरक्षणको कारण हामी पाखा पर्‍यौं भन्नू त्यति युक्तिसंगत हुन्न नै !
    तर आरक्षणले आसे बानी बनाउने र हामी कमजोर छौँ भन्ने मानसिकताको विकास गराउछ आरक्षण लिने पक्षलाई नै । अन्ततः समावेशीता भनेको कुनै व्यक्तिकेन्द्रित भन्दा पनि समुदाय केन्द्रित हुनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कोरोना (कोभिड १९) र भविष्यवाणि

कोरोना (कोभिड १९) पछिको नेपाली अर्थतन्र